एमाले रोजेका पूर्वमाओवादी नेताको चिन्ता: हामीलाई ओलीले उपयोग मात्रै गरे !

 काठमाण्डौ, १ असार।

सुदर्शन खबर

२०७७ पुस १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका ५ जनालाई मन्त्री बनाए। प्रतिनिधि सभा विघटन गर्ने आफ्नो असंवैधानिक कदमलाई साथ दिएका दुई मन्त्रीसहित पूर्वमाओवादीका सात जनालाई उनले मन्त्रिपरिषदमा सहभागी गराएका थिए।

फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई खारेज गरिदियो। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्किनु पर्ने आदेश दियो। तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी, खेलकुद मन्त्री दावा लामा र उद्योग मन्त्री लेखराज भट्टले एमाले रोजे। एमाले रोजेकै कारण माओवादी केन्द्रले राष्ट्रिय सभाबाट बादललाई र प्रतिनिधि सभाबाट रायमाझी, साह, भट्ट र चौधरीलाई निकाल्यो। त्यसलगत्तै ओलीले उनीहरूलाई मन्त्रीमा नियुक्त गरे। वैशाख २७ गते विश्वासको मत नपाएपछि जेठ ३१ गते ओलीले फेरि प्रधानमन्त्रीको सपथ लिए। त्यो बेलामा पनि पूर्वमाओवादीका सातै जनालाई ओलीले मन्त्री बनाए। जेठ ६ गते सर्वोच्च अदालतले पूर्वमाओवादीका ७ मन्त्रीको नियुक्ति बदर गरिदियो।

त्यसपछि भने ओलीले पूर्वमाओवादीहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ। जेठ २७ गते मन्त्रिपरिषद विस्तार हुँदा ओलीले पूर्वमाओवादीका २ जनालाई मात्र समावेश गरेका छन्। सञ्चारमन्त्री नैनकला थापा र कृषि मन्त्री ज्वाला साह पूर्वमाओवादी हुन्। दुई जना मन्त्री बनाउँदासमेत आफ्नो समूहसँग कुनै छलफल नगरिएको उनीहरूको गुनासो छ।

‘हाम्रोतिर जो मन्त्री बनेका छन् कसैको पनि समर्थन छैन। बादलजीको मिसेस (नैनकला थापा) र ज्वालाजी बनेकोमा साथीहरूको विरोध छ,’ पूर्वमाओवादीबाट गएका एक नेताले भने,’बादलजीमा परिवारवादको मोह देखियो। यसमा उहाँलाई प्राथमिकता दिएको भन्दा पनि बादललाई सिध्याउने लाइन हो भन्ने साथीहरूको बुझाइ छ।’

पूर्वमाओवादीको तर्फबाट अरू क्षमता भएका नेताहरू भए पनि त्यसलाई बेवास्ता गरिएको ती नेताको तर्क छ।

‘एकातिर हाम्रो संख्या पनि कम भयो।अर्कोतिर बादलजीले श्रीमती पठाउनुभयो। यसले बादलजीलाई नै अप्ठेरो परेको छ। बादलजीले त्यस्तो नगरेको भए हुन्थ्यो,’ अर्का एक नेताले भने,’सबै बसेर छलफल गरेर नाम पठाउने भनेको हो। तर प्रधानमन्त्रीले यी दुई जना राख्छु भन्नुभएको हो। त्यसले बाहिर राम्रो सन्देश गएको छैन।’

मन्त्रीको भाग पुर्‍याउन नसक्ने भए आफूहरूको समूहबाट कोही नपठाउँदा हुने सुझाव आफूहरूले दिएको पूर्वमाओवादी पक्षधर एक एमाले नेताको भनाइ छ।

‘पहिला त ७ जना दिइयो। चाहिने बेलामा मात्रै उपयोग गरेकोजस्तो देखियो। त्यो सबै हामीलाई परेकै छ,’ ती नेताले भने,’हाम्रो वृत्तमा बादलजीसँग पनि अविश्वास जस्तो प्रधानमन्त्रीले अलिकति बुद्धि नपुर्‍याएजस्तो सबैलाई परेको हो। पूर्वमाओवादीको लिगेसी बादलसँग छ भन्नु गलत हो।’

बादलको कार्यशैलीसमेत चित्त बुझ्दो नभएको भन्दै पूर्वमाओवादी समूहमा आलोचना हुन थालेको छ। राष्ट्रिय सभाको निर्वाचन हार्नुमा समेत बादलकै कार्यशैली मुख्य रहेको उनीहरूको ठहर छ। बादल सेरोमोनियल भूमिकामा रहन रुचाउने नेता भएकाले धेरै ठूलो डिल गर्न नसक्ने एमालेमा रहेका पूर्वमाओवादीको बुझाइ छ।

ज्वाला साहलाई कृषि मन्त्री बनाउँदा आफूसँग छलफल नगरिएको भन्दै प्रभु साहसमेत असन्तुष्ट बनेका छन्।

‘मन्त्री को बन्ने भन्ने ठूलो कुरा होइन। तर प्रधानमन्त्रीको कार्यशैली एकलौटी खालको भयो,’ एक नेताले भने,’प्रभुजीलाई यो कुराले चित्त बुझेको छैन। किनकी आफ्नो क्षेत्रको मन्त्री बनाउँदा मसँग एक पटक पनि सोधिएन भन्ने छ।’

माओवादी केन्द्र परित्याग गरेका एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले भने विशिष्ट परिस्थितिमा सबैलाई समेटन पर्ने भएकाले आफूहरूले प्रधानमन्त्रीलाई छुट दिएको बताए।

‘हामी सबै एकै ठाउँमा भएपछि के बादल, के टोपबहादुर, के अर्को भन्ने हो। धेरैलाई समेटन पर्ने भएकाले विशिष्ट अवस्था भएको हो,’ उनले भने,’सर्वोच्चको निर्णय के हुन्छ भन्ने हो। तत्कालका लागि खाली नगरौं भनेर गरेजस्तो देखिन्छ। संसद पुनर्स्थापना र विघटन दुबै विकल्पमा तयार भएर प्रधानमन्त्रीले कदम चाल्नुभएको होला।’

पूर्वमाओवादी पृष्ठभुमिका अर्का एमाले नेता लेखराज भट्टले पार्टी र नेतृत्वको निर्णयमा कुनै टीका-टिप्पणी नगर्ने बताए।

‘अहिलेको पार्टीको आवश्यकताअनुसार भएको हो। बादलजी हिजो सचिवालयमा भएकाले त्यस्तो बुझाइ भएको हो। तर हाम्रो पृष्ठभूमि भूमिका र योगदान सबैको छ,’ उनले भने,’एकताको पक्षमा म एक किसिमले उभिएको हो। बादलजी अर्को किसिमले उभिएको हो। हाम्रो बुझाइ एउटै हो। तर नेतृत्व उहाँ होइन, अब पूर्वसमूह भन्ने होइन।’

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला