देउवाले आफूलाई सहयोग नगरे काङ्ग्रेस विभाजन गर्ने विमलेन्द्र निधिको चेतावनी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापतिमा उपसभापति विमलेन्द्र निधि लड्ने दावी गरेका छन्। उनले अनलाइन खबरसंग अन्तर्वार्ता दिंदै सभापति शेरबहादुर देउवाविरुद्ध आफू उभिएको दावी गरेका छन्।
‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’, निधिले भनेका छन्, “म सभापतिमा लड्ने कुरा तय गरिसकें, यसमा ढुक्क हुनुस् । समय छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।”
“कृपा गरी सबैलाई आग्रह गर्दछु, मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो ।”, निधिले भनेका छन्।
“मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । उहाँको योगदानलाई प्रेरणादायी रुपमै लिनुपर्दछ, प्रशंसा गर्नुपर्दछ । तर आजका दिनमा पार्टी, मतदाता र देशका लागि नयाँ जेनेरेशनले बढी दिनसक्छ, यो बढी प्रभावकारी हुनसक्छ ।” निधिले भनेका छन्।
निधिले भनेका छन्, “म अहिले ६६ वर्षको भएँ । १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु । तपाईंले ‘ट्रयाक रेकर्ड’ हेर्नुभयो भनेे नेपाली कांग्रेसको प्रतिस्पर्धा त कम्युनिष्टहरुसँग हुन्छ । दुई पार्टीको नेतृत्व दाँज्नुभयो भने कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ, त्यसैले समाज, पार्टी र देशलाई जुन गति दिनुपर्ने हो त्यसमा असर गरेको छ । त्यसलाई निकास दिन र पार्टीमा नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्दछ । त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ ।”
Comments
Post a Comment