ओलीको च’ट्टानी निर्णय: बरू एक्लै हिंड्ने, असहमतसँग सम्झौता गर्दै नगर्ने…!
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता पृथ्वीसुब्बा गुरूङले विश्वासको मत गुमाएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । नेकपा एमाले नेतृत्वको सरकार बदल्न सबै विपक्षी दल एक ठाउँ उभिंदा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।
यो उपलब्धि कांग्रेसका लागि चानचुने होइन । किनकि २०७४ को प्रदेशसभा निर्वाचनले वाम गठबन्धनलाई पाँच वर्ष सरकार चलाउन जनमत दिएको थियो । त्यो स्थिर सरकारको नेतृत्व गर्ने अवसर नेकपा एमालेका नेता गुरूङले पाएका थिए ।
तर राजनीति जनादेशअनुसार चलेन । गठबन्धन गरी चुनावमा होमिंदा अपार जनमत पाएको एमाले र माओवादी केन्द्रको एकता अढाइ वर्षमै टुट्यो । यसको असर केन्द्र हुँदै प्रदेशहरूमा पर्दा गुरुङले मुख्यमन्त्री पद गुमाए । जबकि ३ जेठ २०७५ मा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कायम रहँदा गुरुङको पक्षमा दुई तिहाइ बढी सांसद संख्या थियो ।
वाम गठबन्धन हुँदै नेकपा हुँदा गण्डकी प्रदेशसभाको ६० मध्ये ४० सांसदको समर्थन गुरुङलाई थियो । तर नेकपा विभाजनसँगै एमालेसँग २७ सांसद मात्रै रह्यो । माओवादी केन्द्रका १२ र वाम गठबन्धनबाट जितेका दीपक मनाङे विपक्षी गठबन्धनमा उभिए ।
मुख्यमन्त्री पद गुमाएसँगै एमाले संसदीय दलका नेता रहेका गुरुङले अब रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन् । यसअघि पनि उनले ‘काठमाडौंको रिस पोखरामा पोखिएको’ अभिव्यक्ति दिंदै आएका थिए । हुन पनि तीन वर्षमै मुख्यमन्त्री पद गुमाउनुमा गुरुङको व्यक्तिगत दोष प्रमुख होइन । किनभने, ओलीलाई एक्ल्याउने प्रयास सिंहदरबारदेखि सबै प्रदेशमा भइरहेको छ ।

Comments
Post a Comment