माधव नेपाल एमालेमै फर्किने भएपछि माधव नेपाललाई रोक्न प्रचण्ड र देउवाको जोडबल

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेको संस्थापन पक्ष र माधव नेपालले नेतृत्व गर्ने असन्तुष्ट खेमा अन्तत: एउटै पार्टीमा रहेर संघर्ष गर्ने भएका छन् । यही साताभित्र उनीहरु एउटै झण्डामुनि बसेर कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने वाचासहित सहमति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।


सहमति निर्माणका लागि दुवै खेमाका दोस्रो तहका नेताहरु सघन गृहकार्यमा छन् । उनीहरु पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्नेमा निश्चिन्त भइसकेका छन् । केवल अहिलेसम्म गरेको झगडाका कारण कसरी लाज ढाक्ने भन्ने उपायको मात्र खोजी गरिरहेका छन् ।


माधव नेपाल समेत एमालेमै फर्किने भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा छन् । प्रचण्ड र माधव नेपालकै लहैलहैमा लागेर प्रधानमन्त्री बन्ने दौडमा होमिएका देउवाका अन्तत: हिस्स बुढी हरिया दाँत हुँदै छन् । किनभने, माधव नेपाल पक्षधर नेताहरु देउवाका पक्षमा गरिएका हस्ताक्षर फिर्ता लिँदै छन् ।


अस्तिसम्म देउवाको पक्षमा हस्ताक्षर फिर्ता लिनुअघि प्रतिनिधि सभा विघटन पिर्ता हुनुपर्ने सर्त राखिरहेका नेपाल खेमाका नेताहरु अहिले विघटन गलत वा बाध्यताको कदम थियो भनेर ओलीले आत्मालोचना मात्र गरे पनि पुग्छ भन्न थालेका छन् । यसरी एमालेका दुवै खेमा एकै ठाउँमा उभिएपछि जसपाको महन्थ ठाकुर नेतृत्वको खेमाको साथ मात्र भए पनि ओलीको सरकार जोगिन्छ ।


ओलीको सरकार जोगिने मात्र होइन, विपक्षीको बहुमत पुग्नबाट रोकिन्छ । अझ कांग्रेस महाधिवेशनका लागि आन्तरिक किचलोमै व्यस्त हुनुपर्ने भएकाले सत्ता राजनीतिमा लाग्ने देउवालाई फुर्सद समेत कम हुँदै गएको छ । उनले बढीमा गर्न सक्ने भनेको प्रचण्डले तयार गरेको विज्ञप्तिको मसौदामा हस्ताक्षर मात्र हो । यसले देउवालाई झनै विवादित बनाएको छ । कम्युनिस्ट पदावलीमा कांग्रेसको हस्ताक्षर भएको भन्दै बिहीबार र शुक्रबार बसेको केन्द्रीय समितिमा कांग्रेस नेताहरुले देउवाको व्यापक आलोचना गरेका थिए ।


अहिले माधव नेपाल प्रचण्ड र देउवाको फोन आउँदा पनि झिँजो मान्न थालेका छन् । नेपालले विपक्षी गठबन्धनको सक्रियताप्रति कम रुचि देखाउन थालेपछि देउवा र प्रचण्ड आफै माधव नेपालका निवासमा धाउन थालेका छन् ।


माधव नेपाल एमालेमा फर्किनबाट रोक्नका लागि प्रचण्डले हरसम्भव कोसिस गरिरहेका छन् । उनले सम्पूर्ण जोडबल अहिले माधव नेपाललाई एकताको पक्षमा जान सक्ने सम्भावनाबाट रोक्नका लागि लगाइरहेका छन् । एमालेको एकता हुन नदिनका लागि अरु नेताहरुलाई पनि प्रचण्डले परिचालन गरिरहेका छन् । माधव नेपाल एवं उनी पक्षधर पंक्तिको तल्लो तहसम्मै फोन गर्नेदेखि व्यक्तिगत भेटघाट र भावी योजना तथा प्रलोभनबाट प्रभावित पार्ने काम प्रचण्डले गरिरहेका छन् ।


तर, नेपाल भने सकेसम्म मोबाइल अफ गरेर बस्न चाहेका छन् । उस्तै परे उनी घर ठेगाना समेत परिवर्तन गर्न पाए हुन्थ्यो भन्नेसम्ममा पुगेका छन् । यी घटनाक्रम हेर्दा केही दिनमै नेपाल कुनै बहानामा एकान्तवासमा गए भने आश्चर्य हुने छैन ।


सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्ति इन्कार प्रकरणमा फैसला नगर्दै एमालेभित्र राजनीतिक झगडाको फैसला भइसक्नेछ । यस फैसलाले अदालतको फैसला समेत प्रभावित बनाउनेछ । किनभने, देउवाका पक्षमा गरिएका हस्ताक्षर घट्दै जाँदा उनको प्रधानमन्त्रीका लागि गरिएको दावी पनि कमजोर बन्दै जानेछ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला