नरोत्तम वैद्यले मागे माफि : प्रदेश सभा घेरा हालेर भएपनि केपी समर्थकले माफि मागाएरै छाडे
नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा माफी मागे ।
प्रधानमन्त्रीबारे दिएको आपत्तिजनक अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई गरे आग्रह ।
जेष्ठ २९, २०७८ काठमाडाैँ — संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित भएका नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागेका छन् ।
शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । चौतर्फी विरोधपश्चात् शनिबारको प्रदेशसभा बैठकमा उनले पार्टीको निर्देशनअनुसार आत्मालोचना गरेका हुन् ।
‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’ सदनमा वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको औंल्याए ।
‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।
प्रधानमन्त्रीबारे वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी आलोचना ।
वैद्यले सदनमा आफ्नो भनाइलाई स्पष्ट पार्न समय उपलब्ध गराइदिन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका थिए । ११ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो बसेको थियो । आफ्नै पार्टीको केन्द्रीय र प्रदेशको निर्देशन तथा सत्तारुढ एमालेले समेत उनको भनाइको विरोध गरेको थियो ।
उनलाई अभिव्यक्ति फिर्ता लिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समेत निर्देशन दिएका थिए । सदनमै आपत्तिजनक अभिव्यक्ति दिएकाले वैद्यलाई संसद्बाटै माफी माग्न कांग्रेस सांसदहरुले आग्रह गरेका थिए ।

Comments
Post a Comment