अन्तत: फुट्यो एमाले, नेपालले गरे आफूनिकट नेतासंग छलफल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरुसित छलफल गरेका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि शनिबार काठमाडौंको एउटा कलेजमा उनीहरुबीच छलफल भएको हो ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि सोबारेमा छलफल गरिएको स्रोतले बतायो । नेपाल समूहका सांसदहरुले उक्त हस्ताक्षर फिर्ता नलिने भएका छन् । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन आउँदो सोमबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठक सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा आज महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।
विशेष स्रोतका अनुसार ओलीको उक्त प्रस्तावमा वामदेव गौतम असहमति जनाएका छन्। गौतमले नेपाल समूहलाई पनि बैठकमा सामेल गराउने चाहना राखे पनि ओलीले सामेल गराउन नसकेपछि गौतम असन्तुष्टि हुन सक्ने स्रोतले बतायो।
नेपाल समूह बिना नै यतिठुलो प्रस्ताव, निर्णयहरु गर्दा गौतम झस्किएका छन्। नेपाल समूह विना नै यस्तो प्रस्ताव र निर्णय गर्दा नेपाल समूहले पार्टी एकता नगर्ला भन्ने डरले गौतम झस्किन सक्ने स्रोतले बतायो
स्रोतका अनुसार असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
एक नेताका अनुसार बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।
स्रोतका अनुसार बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
एक नेताका अनुसार महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् । बैठकमा पनि माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्ष भने अनुपस्थित छ ।
निबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार टेलिफोन सम्वादमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । शुक्रबारको बैठकबाट अध्यक्ष ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका थिए ।
नेता नेपालले एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् । यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भए पनि भेटघाट गर्ने सहमति भने भएको थिएन।
स्रोतका अनुसार शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए ।
ओलीले बैठकबाट सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन् ।
Comments
Post a Comment