बागमतीमा कम्युनिस्ट सरकारले जोरी खोज्दा देख्यो कांग्रेसको पावर, माओवादीले दियो साथ
हेटौंडा । नेपाली कांग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।
हेटौँडामा शनिबार शुरु भएको प्रदेशसभामा आर्थिक वर्ष २०७८–७९ को बजेटमाथिको छलफल प्रारम्भ भएलगत्तै विपक्षी दलका शीर्ष नेताहरूले बोलेर बैठक अवरुद्ध पारेका हुन् ।
प्रदेश सरकारले वजेट वक्तव्य दुई वटा प्रकाशन गरेको, आफैं सञ्चारगृह सञ्चालन गर्न बजेट छुट्याएको, तयारी नगरी सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषय वजेटमा राखिएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन् ।
बैठकमा बजेट छलफल शुरु हुनेवित्तिकै कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विपदको चपेटामा परेको सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको बताए ।
उनले पूर्वाग्रही ढंगले बजेट विनियोजन र कार्यान्वयन गरेको र सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने संघीय सरकारको ईकाइ बनेको आरोप लगाए ।
बानियाँले बजेट पुस्तिका दुई ढंगको आउनु गलत भएको भन्दै एउटै पुस्तक बनाएर नल्याएसम्म संसद चल्न नदिने बताए ।
विपदमा परेका जिल्लालाई सरकारले नहेर्ने हो भने कांग्रेसले आफ्नो सेवा सुविधा जनताको राहतमा खर्चिन तयार रहेको पनि बानियाँले बताए ।
कांग्रेस नेता बानियाँले स्वतन्त्र सञ्चारगृह चलाउन सहयोग गर्नुभन्दा सरकार आफैंले सञ्चारगृह चलाएर नराम्रो कुरा पनि राम्रो भनेर प्रचार गर्न खोजेकाले बजेट फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने सशर्त अनुदान बजेट पूर्वाग्रही ढंगले विनियोजन गरेको आरोप लगाए । उनले सशर्त अनुदानको बजेट नसच्याएसम्म छलफल अघि नबढ्ने बताएका छन् ।
उनले सुरूङमार्ग र विद्युतीय बस सञ्चालनबारे बजेट वक्तव्यमा उल्लेख गरिएको विषय हटाउन माग गरेका छन् । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउन नहुने जम्मकट्टेलले बताए ।
विवेकशील साझाका सांसद रमेश पौड्यालले विधि र प्रक्रिया विपरीत बजेटका २ वटा पुस्तक छापेर अनधिकृत काम भएको बताए ।
सांसद सुरेन्द्रराज गोसाईले प्राकृतिक विपद र कोभिड–१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन गर्न नसकेको बताए ।
प्रदेश सरकारले सञ्चारगृह चलाउने र विद्युतीय बस सञ्चालन गर्नेबारे वृहत् छलफल आवश्यक रहेको उनको भनाइ छ ।
विपक्षी सांसदले संसद बैठक अवरुद्ध पारेपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
Comments
Post a Comment