यसकारण शेखर कोइराला कांग्रेसको सभापति बन्नुपर्छ

 






नेपाली कांग्रेसको आसन्न चौधौ महाधिवेशन जति नजिक आईरहेको छ, त्यति नै आम नेता तथा कार्यकताहरुमा हर्सोल्लास र खुशीको रक्तसञ्चार भैरहेको देखिदैछ । गत बर्ष नै सम्पन्न हुनुपर्ने नेपाली कांग्रेसको चौधौं महाधिवेशन बिषम परिस्थितिका कारण यस बर्षको फाल्गुण महिनामा सम्पन्न हुन लागिरहेको छ । बर्षौसम्म पार्टीमा आफुले पु¥याएको योगदान र आगामी दिनहरुमा पार्टीलाई अझ उचाईमा पुर्याउन चालिने बिभिन्न योजनाहरुका साथ आफुलाई नेतृत्व तहमा उक्लिने आधार तयार गर्न नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुले समेत महाधिवेशनलाई एक महत्वपूर्ण सिढीको रुपमा लिने गर्दछन् ।देशमा अहिले साम्यवादी सोचका मतियारहरुको बाहुल्यता रहेको कम्यूनिष्टको झण्डै दुई तिहाईको सरकार छ । देशकै ठूलो र प्रजातान्त्रिक शक्तिका रुपमा रहेको नेपाली कांग्रेस वर्तमान कांग्रेसको नेतृत्वका कारण गड्यौला खुम्चिए झै खुम्चिएको अवस्थामा रहेको छ । प्रजातान्त्रिक शक्ति कमजोर हुँदा कम्युनिष्टहरुले चलखेल गर्न पाउने र गलत क्रियाकलापहरु फष्टाउने कुरामा भने अब झनै स्पष्ट भैसकेको छ । नेपाली कांग्रेसमा आर्थिक चलखेल गर्ने व्यापारीहरुको खेलोफडको बढन थालेसँगै ईमान्दार र त्यागी नेता तथा कार्यकर्ताहरुको बहिर्गमनको शुरुवात भएको हो । कार्यकर्ताको भावना र चाहना भन्दा स्वार्थ केन्द्रित अनुदानमा आधारित नेतृत्वपंक्तिले नै नेपाली कांगे्रसलाई अहिलेको अवस्थामा पुर्याएको हो भन्दा कुनै फरक नपर्ला ।


जसले नेपाली कांग्रेसलाई बनाए, मलजल गरे र योग्य प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गरे, तिनीहरु भने अहिले पनि ओझेलमा रहेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पुराना नेताहरु अहिले पनि बीपीको समाजवादको रटान गाईरहेका छन् । देशमा गणतन्त्र आईसकेको पनि दशकौं भैसक्यो । देशबाट राजसंस्था पनि सदाका लागि हटेर गैसक्यो । नेपाली कांग्रेस जस्तो संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा अटुट आस्था राख्ने पार्टी पनि कम्युनिष्टहरुको बुई चढेर धुरन्धर गणतन्त्रवादी भैसक्यो । कहिले प्रचण्डपुत्री बोक्ने त कहिले बाबुराम भट्टराई ढोग्ने प्रवृत्तिका कारण चितवन र गोरखामा नेपाली कांग्रेस असाध्यै बिटुलिएको अवस्थामा पुगेको छ । नेतृत्वमा रहेका नेपाली कांग्रेसका नेतृत्वपंक्तिलाई भने हरियो डलरको बुजो भए पुग्ने अवस्था सिर्जना भएको छ ।


अहिले नेपाली कांग्रेसमा नेता र तिनका कार्यकर्ताहरुको अवस्था हेर्दा कांग्रेस पार्टी कसरी पो चलिरहेको छ भनेर दुःख लाग्छ । नत कुनै निर्दिष्ट नीति, नत कुनै औपचारिक कार्यक्रमहरु, नत विचार र सिद्धान्तका बिषयमा कुनै प्रशिक्षण, नत सरकारका गलत कामका बिषयमा गरिने अभियानहरु जताततै भद्रगोलको अवस्था र नेताहरुको गुटगत भेला र एकआपसको दोषारोपण प्रवृत्तिले नेपाली कांग्रेसलाई नराम्ररी पिरोलेको देखिन्छ । सरकारका एकपछि अर्का गलत कामका फेहरिस्त तयार भैरहेका बेला प्रमूख प्रतिपक्षी दलको कुम्भकर्णको सुताईले सरकारलाई एकपछि अर्को ब्रम्हलुट गर्ने बाटो खुलेको छ । जसले गर्दा सरकार सञ्चालन गर्ने दलहरुलाई एकपछि अर्को गलत निर्णय गर्दै देश दोहनको महान अभियानलाई सार्थक मोडमा पु¥याउने अभियान सफल बनिरहेको छ ।


लाहुर पसेर र जग्गा बेचेर मनग्ये आम्दानी गरेर कांग्रेस बनेका महान प्रजातन्त्रवादीहरुले भने नेपाली कांग्रेसलाई सर्वाङ्ग नाङ्गो बनाउँदैछन् । देशकै ठूलो प्रजातान्त्रिक पार्टी भनेर नाक फुलाउने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने तिनै लाहुरे, जग्गा व्यापारी र कालोबजारीका पैसा बटुल्दै भएभरका विभाग गठन गर्दै तिनैलाई सदस्य बनाउँदै थन्क्याउँदैछन् । नेपाली कांग्रेसको विधान राम्ररी नदेखेकाहरु भटाभट क्रियाशिल सदस्यमा दर्ता गराईदैछन् । पार्टीको घोषणापत्र समेत नदेखेका राजनीतिज्ञहरुलाई निर्वाचनमा टिकट वितरण गरेर निर्वाध चुनाव लडाईदैछन् । जीवनभर चारतारे झण्डा बोकेर, जेलनेल व्यहोरेर व्यवस्था बिरोधी आन्दोलनमा आफ्नाे सर्वस्व गुमाएकाहरुलाई पञ्चायतको सिनो बोकेका राजनीतिक दल मात्र हैन, हिजो १० बर्षसम्म आफ्नाे घरमा बस्न समेत नदिई सुकुम्बासी बनाउन बाध्य पार्ने पाखण्डीहरुलाई भोट हाल्न लगाउँदैछन् । आफ्नाे राजनीतिक आस्थामा आँच आउन नदिई विश्वेश्वरप्रसाद कोईरालाको राजनीतिक दर्शन र विचार बोकेर दशकौं संघर्ष गरेर हिडेका आस्थावान कार्यकर्तालाई हसिया हथौडामा भोट हाल्न बाध्य पार्ने पनि नेपाली कांग्रेसको नेता हुनसक्छ ?


नेपाली कांग्रेस भएर नेताको स्वार्थका लागि के हामीले गाई, हसियाँ हथौडा र सूर्यमा भोट हालिदिनु पर्ने ? यस्तै कर्म गर्न गराउन हामी नेपाली कांग्रेसका सिधासाधा कार्यकर्ताले फेरी पनि शेरबहादुर देउवालाई सभापति बनाईदिनु पर्ने ? नेपाली कांग्रेसको भएभरको शाख बीबीसीको एउटै अन्तवार्ताले खायो । देउवाकै कारण १० बर्षसम्म राजनीतिक विचारधाराविहिन धनयुद्धका अपराधीहरुको फन्दामा परी हजारौं निरपराध नेपालीले ज्यान गुमाए । लाखौ नेपालीले हदैसम्मको दुःख, हण्डर र सजाय पाए । देउवाले डडेल्धुराको ढुंगेघरमा बम पडकाउन लगाएर राज्यबाट क्षतिपूर्ति लिदै बुढानिलकण्ठमा आलिशान महल ठड्याए । अबोध बालबालिका पढाउने निर्दोष शिक्षक रामप्रसाद अधिकारीले खै त देउवा प्रधानमन्त्री बन्दा पनि न्याय पाएको ? यी सबै देउवाका देखाउने दाँत हुन । ओलीसँगको गठजोडमा चालिएका अनेक गुह्य रहश्यका केही बाछिटाहरु मात्र हुन ।


अब कांग्रेसमा विचार हैन व्यक्ति फेर्नुपरेको छ । बीपी कोइरालाको राजनीतिक सिद्धान्त कस कसले माओवादीको एजेण्डामा लगेर बली चढाए ती ती व्यक्तिहरु अब राम्ररी चिन्नु परेको छ । गणेशमानजी र किसुनजीको आँसुको मुल्य तिर्नुपरेको छ । अब सबै नेपाली कांग्रेसका कार्यकर्ताहरुले ईमान्दारिताको राजनीति र प्रजातान्त्रिक समाजवादको झोला भिर्नु परेको छ । सच्चा समाजवादीको नेतृत्वमा नेपाली कांग्रेसलाई हिडाउन सक्ने नेता चुन्नु परेको छ । तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बिग्रिन लागेको नेपाली कांग्रेसलाई मर्मतसंभार गर्न जरुरी भैसकेको छ । धोई पखाली गरेर फेरी एकपटक सुकिलो कांग्रेस बनाउन साहस र हिम्मत बटुल्न परेको छ ।


सरकारी जागिर खाने कर्मचारी पनि निश्चित समयपछि रिटायर्ड हुन्छन् । नेपाली राजनीतिमा भने सुरुवाल स्याहार्न नसक्ने अवस्था आउँदा पनि युवा नेता नै बनिरहनु पर्छ । लगानीको सावाँ ब्याज असुल गरिसकेपछि साहुले त आसामीलाई छाडिदिन्छ तर नेपालका नेताहरु मात्र कस्ता पदलोलुप र खन्चुवा देखिएका हुन ? अझै १० बर्षसम्म देउवा र पौडेललाई युवा नेता भनिदिनु पर्ने ?


त्यसैले अब हामीले एकै स्वरमा भन्नु परेको छ, नेपाली कांग्रेस अब डा. शेखर कोइरालाकै भर परेको छ । अहिले देशैभरी नेपाली कांग्रेसको भावी सभापतिका रुपमा डा. शेखर कोइरालाको चर्चा चलिरहेको छ । यही माहोल आउँदो नेपाली कांग्रेसको चौधौं महाधिवेशनसम्म चलिरहने अवस्था देखिदैछ । एकपटक डा. शेखर कोइरालाको नेतृत्व नेपाली कांग्रेसले खोजिरहेको छ । यस अवस्थामा हामी सबैजना मिलेर डा.कोइरालाको पक्षमा महान राजनीतिक अभियान चलाउनु परेको छ । मरिसकेको कांग्रेसलाई संजिवनी पिलाउने व्यक्ति रोज्नु परेको छ ।


उठौ, बोलौं, आफ्ना स्वतन्त्र विचारहरु आम जनता बीच खोलौं । आउ, डा. शेखर तिम्रो आगमनले नेपाली कांग्रेसमा पुनः नयाँ आशा पलाउन सक्नेछ । मुलुकले नयाँ ईमान्दार नेताको मुहार देख्नेछ । बिग्रिएको कांग्रेसलाई सपार्न सक्नु भयो भने इतिहासले डा. शेखर कोइरालाको नाम स्वर्ण अक्षरले लेख्नेछ ।

Comments

Popular posts from this blog

सयौ ठूला नेता कार्यकर्ता काँग्रेस र माओवादी छोडेर एमाले प्रवेश (नाम सहित हेर्नुहोस)

नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !